पूर्व मिस नेपाल माल्भिका सुब्बाको परिचय मिस नेपालमा मात्रै सिमित छैन । माल्भिका मिडिया पर्सनालिटी पनि हुन् । विभिन्न टेलिभिजनमा टेलिभिजन–सो गर्ने उनी फेसनमा पनि उत्तिकै रुचि राख्छिन् । विभिन्न व्युटी प्याजेन्टमा निर्णायकका रुपमा पनि बाक्लै देखिने माल्भिकासँग बाह्रखरीकर्मी वर्षा महर्जनले फेसनमा केन्द्रित रहेर गरेको कुराकानी :
तपाईंको लागि फेसन के हो ?
अहिलेको परिप्रेक्षमा मलाई जे कुरा सहज लाग्छ, जुनले म भित्र आत्मविश्वास जगाउँछ त्यहि नै मेरो लागि फेसन हो ।
आफू कतिको फेसनेवल छु जस्तो लाग्छ ? १० मा आफूलाई कति नम्बर दिनुहुन्छ ?
अहिले त म त्यति फेसनेवल छु जस्तो लाग्दैन । किनभने ‘वर्किङ मम्’को हिसाबमा मलाई फेसनेवल देखिनुभन्दा पनि सहजताले महत्व राख्दछ । म आफूलाई ५ मा राख्छु ।
ब्रान्डमा कत्तिको सचेत हुनुहुन्छ ?
लुगाको कुरामा चाँही म त्यति ब्रान्ड कन्सियस छैन । तर मेकअप प्रोडक्ट र स्किन केयरमा चाँही म स्पेसिफिक ब्रान्ड नै छान्छु ।
अहिलेसम्म किन्नु भएको सबैभन्दा महंगो सामान ?
महंगो हो की होइन थाहा छैन, अमेरिका जाँदा १०० डलरको सामान किनेको थिएँ । त्यो नै मेरो लागि महंगो हो ।
भनेपछि विदेशमा जाँदा निकै सपिङ गर्नुहुन्छ ?
पहिला त धेरै गर्थें । तर अहिले म एकदम कन्जुस भएको छु (लामो हाँसो) । परिवार बढ्दै गएसँगै आफ्नो लागिभन्दा पनि बच्चाको लागि धेरै सपिङ गर्छु ।
विदेशमा कार्यक्रमबाट पाइने पारिश्रमिक उतै सपिङमा मै सकिन्छ ?
म एकदम सस्तो ब्रान्डहरु छान्छु । ५ पाउन्ड, १० पाउन्ड पर्ने सामान धेरै किन्छु ।
लुगा, जुत्ता, मेकअप, गहना मध्ये कुनमा ध्यान दिनुहुन्छ ?
म गहनाहरु त खासै लगाउँदिन । हातमा, कानमा गहना भयो भने मलाई बाँधेर राखेको महसुस हुन्छ । सबैमा बराबरी भन्नुपर्ला ।
उमेरले सपिङमा प्रभाव पार्दोरहेछ ?
हो । अहिले म चाहिएपछि सपिङमा जान्छु । म २० वर्षको हुँदा हरेक शुक्रबार केही न केही नयाँ लुगा किन्थेँ । ३० कटेपछि २० को बानी मसँग रहेन । उमेर र जिम्मेवारी अनुसार प्राथमिकताहरु धेरै परिवर्तन भैसकेका छन् ।
सपिङ जाँदा आफूलाई मनपरेको सामान कहिले लुकाएर ल्याएको अनुभव छ ?
छैन । बरु उदारो ल्याउँछु ।
फेसनको हिसाबमा कसैलाई पछ्याउनु हुन्छ ?
मेरो काम टिभीमा धेरै भएर होला म टिभी कार्यक्रमहरु हेर्छु । एलेन डी जनरस, ट्रेभर नोआलाई फलो गर्छु । तर फेसनको हिसाबमा भने कोही छैन ।
Discussion about this post