काठमांडौ
सरकारले लैङ्गिक विभेद तथा सबै प्रकारका कुरीति तथा कुसंस्कारको अन्त्यका लागि सामाजिक रूपान्तरणको अभियानमूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा प्रदेश र स्थानीय तहको सहकार्य र समन्वयमा सरकारले लैङ्गिक विभेद तथा सबै प्रकारका कुरीति तथा कुसंस्कारको अन्त्यका लागि अभियानमूलक कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यलाई थप सुविधासहित विस्तार गरिने, राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत् उद्यमशीलता विकास, वित्तीय पहुँच वृद्धि, प्रविधि सहयोग र उत्पादित वस्तुको बजारीकरणमा सहयोग गरी महिला सशक्तिकरण गरिने र यसका लागि सबै स्थानीय तहमा महिला उद्यमशीलता सहजीकरण केन्द्र स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै महिला सहकारी समूहहरू तथा अर्ध बेरोजगार र वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई कृषि व्यवसायमा आकर्षित गरिने, आफ्नो हेरचाह आफै गर्न नसक्ने वा श्रम गर्न नसक्ने अशक्त तथा असहाय, अपांगता भएका व्यक्ति, महिला, बालबालिका र लोपोन्मुख जातिका नागरिकहरूको पहिचान गरी सामाजिक संरक्षणको व्यवस्था गरिने, उच्च रक्तचाप, मधुमेह, क्यान्सर, दम, मिर्गौला, कलेजो र महिलाहरूको पाठेघरसम्बन्धी रोगको रोकथाम, पहिचान, परीक्षण र उपचारका कार्यक्रमहरू देशव्यापी रूपमा थप प्रभावकारी बनाइने र महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकसम्बन्धी कार्यमा संलग्न सरकारी निकाय एवं सङ्घसंस्थाको पुनःसंरचना गरी समाज कल्याणका लक्षित कार्यक्रमहरूलाई एकीकृत र परिणाममुखी बनाइने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
Discussion about this post