२४ असार, काठमाडौं ।
लकडाउनको अवस्थामा निरन्तर स्वास्थ्यकर्मिको नजरमा रहनु पर्ने गर्भवती तथा सुत्केरीहरुका लागि ‘आमाको माया’ एप्स वरदान साबित भइरहेको छ ।
कोभिड–१९ का कारण २०७६ चैत्र ११ गतेदेखि देशमा बन्दाबन्दी शुरु भएपछि उचित समयमा सहजै स्वास्थ्यपोचार पाउन नसकेका गर्भवती तथा सुत्केरीहरुले आफ्नो मोबाइलमै यो एप्स डाउनलोड गरेर सहजै आफ्नो समस्या, अवस्था र जिज्ञासा मेटाउने गरेको ‘आमाको माया’ कार्यक्रममा संस्थापक अध्यक्ष राजेन्द्र पौडेलले जानकारी दिए ।
‘बन्दाबन्दीका कारण गर्भवती, सुत्केरी तथा नवजात शिशुहरुको अवस्था अति नै जोखिममा परेका छ’ अध्यक्ष पौडेलले महिला खबरसंग भने, ‘यस्तो अन्योल र एकान्तवासको समयमा गर्भवती तथा सुत्केरी आमाहरुको समस्यालाई तुरुन्त समाधान गर्न र २४ सै घण्टा जोखिमको स्थितिमा रहेका यी आमाहरुलाई स्वास्थ्यकर्मिको निगरानिमा राख्न यो सेवा दिइरहेका छौँ ।’

पौडेलले एण्ड्रोएइड मोबाइलको गुगल प्ले स्टोरमा AMAKOMAYA (आमाकोमाया) टाइप गरेर यो एप्स डाउनलोड गर्न सकिने छ । यो एप्समा गर्भवती महिलाको नाम, फोन नम्बर र पछिल्लो महिनावारी रोकिएको मिति राखी दर्ता गर्नु पर्ने हुन्छ । यही दर्ता भएको सूचनाको आधारमा गर्भवती महिलाको गर्भ कति हप्ता वा महिनामा चलिरहेको छ ? उनको शरीरभित्र रहेको भूर्ण कस्तो अवस्थामा हुर्किरहेको छ रु यो अवस्थामा गर्भवती महिलाले पालन गर्नु पर्ने स्वास्थ्य सम्बन्धी सल्लाहलाई विभिन्न सामग्रीहरु जस्तै श्रव्य, दृश्य र पाठ्य (अडियो, भिडियो र टेक्स्ट) मार्फत उपलब्ध गराइएको छ ।
विषेश गरी श्रीमान् र परिवारसमेत सँगै बसेर हेर्ने मिल्ने यी सामग्रीहरुले परिवारभित्र भएका धेरै जिज्ञासा तथा जिज्ञासाको समाधान गर्दछ र गर्भवती महिलाको स्वास्थ्यका लागि सबैलाई जिम्मेवार बन्न सिकाउँछ । अर्को तर्फ यसरी दर्ता भएका गर्भवती महिलाहरुको सूचनाको आधारमा २४ सै घण्टा सेवा दिइरहेका ३ जना ‘प्रोफेसनल मिडवाईफ’हरुले फोन नै गरेर गर्भवती महिलाहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने तथा स्वास्थ्य सम्बन्धी परामर्श दिने गर्दछन् ।
एप्समा उपलब्ध भएको जोखिम मुल्याङ्कन फारामले गर्भवती महिला रहेको स्थानको जीपीएस (GPS) स्थान समेत रेकर्ड गर्ने भएकाले नजिकैको स्वास्थ्य संस्था र स्थानीय तहसँगको सहकार्यमा आपतकालीन अवस्थामा उपचार तथा प्रसूति सम्बन्धी सेवामा उद्धारसमेत गर्नको लागि सहजिकरण भइरहेको छ ।
नेपालमा अहिले पनि कतिपय क्षेत्रमा इन्टरनेट पहुँछ छैन । त्यस्तो क्षेत्रका नागरिकको लागि निःशुल्क टोल फ्री नम्बर १६६–००१–०००४६ समेत उपलब्ध गराइएको अध्यक्ष पौडेलले बताए ।
यसरी एण्ड्रोएइड मोबाइल फोन नभएका समुदायका महिला समेत यो सेवाबाट बन्चित हुन नपरोस् भनेर यो टोल फ्री नम्बर व्यवस्था गरिएको छ ।
कोभिड–१९ को महामारी र यसले सिर्सना गरेको बन्दाबन्दी पश्चात अहिले आमाको माया एपबाट ५ हजार भन्दा बढी आमाहरु लाभान्वित भइसकेका छन् । २४ सै घण्टा सेवा दिने स्थानबाट ४ सय ५१ जना आमाहरुको उपचारमा सहजीकरण भइसकेको पनि पौडेलको भनाइ छ ।
यसरी सेवा लिनेहरुमा अहिलेसम्म पश्चिमको बैतडीदेखि पूर्व झापासम्मका महिलाहरु रहेको अध्यक्ष पौडेलले बताए ।
Discussion about this post