काठमाडौं- कुवेतले अवैध रुपमा रहँदै आएका आप्रवासी श्रमिकलाई स्वदेश फर्किने अवसर (आममाफी) दिएसँगै २ हजार ५ सय नेपाली कुवेतस्थित सेल्टरमा स्वदेश फर्किने दिन गनिरहेका छन्। उनीहरु १० दिनभन्दा अगाडिदेखि कुवेतको सेल्टरमा रहँदै आएका छन्।
कोरोना भाइरस संक्रमण बढ्दै गएपछि अवैध आप्रवासी श्रमिकलाई स्वदेश फर्काउन कुवेत सरकारले जरिवानासमेत मिनाहा गरी आममाफी दिएपछि उनीहरू सेल्टरमा आइपुगेका हुन्। उनीहरुलाई स्वदेश पुग्ने हवाईभाडासमेत तिरिदिने निर्णय गरेको कुवेत सरकारले सेल्टरमा खानबस्नसमेत निःशुल्क उपलब्ध गराइरहेको छ।
भारत, चीन, म्यानमार, थाइल्यान्ड, बंगलादेशलगायत अन्य मुलुकले आफ्ना नागरिकलाई स्वदेश फर्किन अनुमति दिइसकेको तर नेपाल सरकारले अझै बेवास्ता गरिरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष सुजन केसीले बताए।
‘श्रमिकलाई स्वदेश फर्काउने खर्च नेपाल सरकारले व्यहोर्नुपर्दैन। कुवेत सरकार आफैँले चार्टर गरेर पठाउने हो। तर पनि नेपाल सरकारले बेवास्ता गरिरहेको छ,’ एनआरएनए कुवेतका अध्यक्ष केसीले भने।
कुवेतमा ७ हजारभन्दा बढी अवैध नेपाली रहेको अनुमान छ। जसमध्ये ३ हजार ५ सय फर्किने तयारी गरिरहेको र सेल्टरमा अहिले २ हजार ५ सय रहेको एनआरएनए कुवेतले जनाएको छ।
कुवेत सरकारको तथ्यांकअनुसार त्यहाँ १ लाख ६८ हजार अवैध आप्रवासी कामदार रहँदै आएपनि स्वदेश फर्किनका लागि आममाफी कार्यक्रममा २६ हजार आप्रवासीले मात्रै आवेदन दिएका छन्।
कतिपय रोजगारी पाइरहेका र सेल्टरको अत्यधिक भिडमा कोरोना सर्ने त्रासले स्वदेश फर्किन नचाहेको हुन सक्ने अनुमान गरिएको छ। ‘सेल्टरमा बस्न पनि त्रास छ। निकै ठूलो संख्यामा आप्रवासीहरु कोचाकोच भएर बस्नुपर्ने अबस्था छ,’ अध्यक्ष केसी भन्छन्, ‘त्यसमाथि पनि भिडभाडमा बस्दा वा हवाई यात्रा गर्दा कोरोना संक्रमणको जोखिम हुने भएकाले पनि ठूलो संख्यामा अवैध आप्रवासीहरु आममाफीमा सहभागी हुन नसकेको पाइएको छ।’
आममाफीमा सहभागी भएर सेल्टरमा रहेका नेपाली श्रमिक पनि जोखिमपूर्ण अवस्थामा रहेको पाइएको छ। सेल्टरमा ठूलो संख्यामा आप्रवासीहरु रहेका कारण कोरोनाको जोखिम रहेको छ। सरकारले यस्ता श्रमिकहरुलाई तत्काल स्वदेश फर्काउन पहल गर्नुपर्ने एनआरएनए कुवेतले जोड दिएको छ।
‘कुवेतले कहिलेसम्म खान दिएर सेल्टरमा बस्न दिने हो। सेल्टरमा बस्न नदिएपछि नेपालीहरु कहाँ जाने? सरकारले यो कुरा खै सोचेको?,’ अध्यक्ष केसीले प्रश्न गरे।
समस्यामा परेका श्रमिक फर्काउन ज्ञापनपत्र
श्रमिकहरुका क्षेत्रमा काम गर्दै आएको श्रमिक सञ्जालले समस्यामा परेका श्रमिकलाई तत्काल स्वदेश फिर्ता गर्न माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ। रोजगारी गुमाएका, आवासबाट निकालिएका, खाना खान नपाएका, अत्यधिक भीडभाडयुक्त आवासमा बस्नु परेका कारण कोरोना वा अन्य रोगको संक्रमणको जोखिममा परेका, पैसा सक्किएका, गर्भवती वा काखमा साना बच्चा भएका, र एउटै कोठामा बस्ने साथीहरु संक्रमित भएकाहरुलाई सरकारले उद्धार गर्नुपर्ने सञ्जालले सरकारलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ।
श्रम आप्रवासन विज्ञ तथा इक्वीडेम रिसर्चका दक्षिण एसिया निर्देशक रामेश्वर नेपाल सरकारले स्वदेश फर्किन चाहने सबै नागरिकहरुलाई ल्याउन नसके पनि अत्यन्त जटिल अवस्थामा रहेका श्रमिकहरुलाई स्वदेश फर्काउनुपर्ने बताउँछन्। ‘अहिले कतिपय श्रमिकहरु कोरोनाका कारण विदेशमा समस्यामा नभए पनि स्वदेश फर्किन चाहेका छन्। तर कतिपय जटिल अवस्थामा छन्,’ उनी भन्छन्, ‘रोजगारी गुमेका तथा खान बस्नसमेत समस्या परेका श्रमिकहरुलाई सरकारले जसरी पनि उद्धार गर्नुपर्छ।’
सरकार चुपचाप
सरकारले विदेशमा समस्यामा परेका श्रमिकहरुलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरिरहेको उल्लेख गरेको छ। तर के कस्तो तयारी गरिरहेको छ भनेर कुनै जानकारी दिएको छैन।
साभार
Discussion about this post