डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका ८ लडागडामा गएको साढे तीन वर्षमा १ सय ६३ वटा बालविवाह भएको पाइएको छ।
गैरसरकारी संस्था सामुदायिक विकास केन्द्र सीडीसी डोटीले गरेको सर्वेक्षणअनुसार २०७३ साल बैशाखदेखि अहिलेसम्म एउटै वडामा यति धेरै बालविवाह भएको पाइएको हो ।
डोटी जिल्लामा भने यस अवधिमा बालविवाह गर्नेको संख्या एक हजारभन्दा बढी रहेको छ । बालविवाह हुनेमा १ सय ३३ जना बालिका र २७ जना बालक रहेका छन् । बालविवाह हुनेमा १४ वर्षदेखि १९ वर्षसम्मका रहेका छन् । परिवारको दबावले ३१ जना, मोबाइल तथा इन्टरनेटको प्रयोगले ३३, राम्रो घर परिवारको आशमा ७ जना, चाँडो बिहे गर्ने मान्यतामा ५ जना तथा चाँडो बिहे गर्दा पुण्य प्राप्त हुने मान्यता लगायतका कारण १६३ जनाको बालविवाह भएको पाइएको छ ।
मोबाइलको गतल प्रयोगले बालविवाह र अपराधजन्य घटनाले प्रोत्साहन पाएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी दिलीपसिंह देउवाले बताए ।
जोरायल गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष ध्वजबहादुर देउवाले जिल्लामा रहेका नौ वटा पालिकाले बालविवाह गर्ने गराउनेलाई सरकारी सेवाबाट वञ्चित गराउने निर्णय गरे पनि निर्णयको बेवास्ता गर्दै बालविवाह गर्ने कार्य नरोकिएको बताए ।
Discussion about this post