अवसरको ढोका आफैं खुल्दैन, ढक्ढकाउनु पर्छ। ‘भ्वाइस अफ नेपाल’को दोस्रो सिजन प्रेक्षा कोइरालाका लागि त्यस्तै ढोका थियो, जुन उनको ढकढकले खुल्नै मानेन। ‘ब्लाइन्ड अडिसन’बाटै बाहिरिन् उनी।
हेटौंडादेखि गायनमा स्थापित हुने सपना पालेर काठमाडौं छिरेकी उनी भ्वाइस अफ नेपाललाई अवसरमा बदल्न चाहन्थिन्। नतिजा उल्टो भयो।
त्यो प्लाटफर्मबाट केही होला भन्ने थियो। नभएपछि उनलाई एउटा प्रश्नले सताउन थाल्यो– अब यसपछि के?
यसको जवाफ उनलाई अरू कसैले दिनेवाला थिएन।
जे भयो, सो भयो। अब झन् दाम्मी हुनेवाला छ भनेर आफैंलाई हौस्याउँदै लेखिन्–
तिमी कहिले हार नमान्नू, जिन्दगीमा हार नमान्नू
आफ्नो भोगाइ अरूका निम्ति पनि प्रेरणा बनोस् भनेर त्यसमा शब्दहरू थप्दै गइन्–
तिमीलाई नि थाहा छ, जिन्दगी एकदम कठिन छ
तर हन्ड्रेड पर्सेन्ट दिनुपर्छ जे पनि गर्न सकिन्छ
यस्तै हो कहिलेकाहीँ सबैको दिमाग सन्किन्छ
जसले सम्हाल्छ आफूलाई त्यसैको नै जित हुन्छ…
यी शब्दलाई २२ वर्षीया प्रेक्षाले हिपहप-र्याप शैलीमा गाइन्। गत साता यही गीत युट्युबमा सार्वजनिक गरेपछि उनलाई धेरैले ‘लेडी (महिला) र्यापर’ भनेर चिन्न थालेका छन्।
हिपहप–र्याप प्रेक्षाको नयाँ आकर्षण हो। शास्त्रीय, मेलोडियस, स्लो रक र ज्याज हुँदै हिपहप–र्यापसम्मको यो यात्रा प्रेक्षाकै लागि पनि ‘सरप्राइजिङ’ छ।
‘चितवनमा काँ धा गे ना ति ना गाइरहेको मान्छे, पहिलो गीत नै हिपहप–र्याप होला सोचेकै थिइनँ,’ कर्म क्याफे, झम्सिखेलमा भेटिएकी उनले भनिन्।
यो क्याफे भएकै भवनमा काठमाडौं ज्याज कन्जर्भेटरी छ जहाँ उनले छ महिने कोर्स गरेकी थिइन्।
सानोमा सिन्धु मल्लका गीतमा नाच्न-गाउन रुचाउँथिन् प्रेक्षा। मेलोडियस गीतमा रमाउने उनी प्लस टु पढ्ने बेलादेखि अंग्रेजी गीतमा पनि झुम्न थालिन्। यसको श्रेय आफ्ना मिल्ने साथी अंकित र नातेदार उज्वल कोइरालालाई दिन्छिन्। उज्वलसँग मिलेर उनले रिहानाको गीतको कभरसमेत गाएकी थिइन्, सार्वजनिक भने गरेनन्।
स्नातक पढ्न चितवन पुग्दासम्म पूर्वीय शास्त्रीय संगीतकै जगमा करिअर अघि बढाउने सोच थियो। संगीत कक्षामा उनको भेट सुस्मा विश्वकर्मासँग भएपछि प्रेक्षाको सांगीतिक रूचिले नयाँ मोड लियो। यी दुईको मित्रता कक्षाबाट फैलिएर बारसम्म पुग्यो। दुइटी मिलेर बारमा ‘गिग’ गाउन थाले। गिगकै क्रममा प्रेक्षा र सुस्मा गितार भिरेर चितवनबाटै पोखरा, काठमाडौं, बुटवल र हेटौंडासम्म पुग्ने भए।
‘त्यही चरणमा मैले इस्टर्न जानरा मेरो हैन भन्ने महशुस गरेँ,’ उनले भनिन्। भ्वाइस अफ नेपालमै पनि उनले जेपिटी रकर्जको स्लो रक ‘वसन्त’ गाएकी थिइन्।
उनलाई ज्याज वेस्टर्न म्युजिकको पनि ‘बाप’ हो भन्ने लाग्थ्यो। काठमाडौं आएलगत्तै सिक्न थालिन्। आफ्नो पहिलो गीतमा पनि ज्याजकै प्रभाव पर्ला भन्ने सोच्थिन्। तर पछिल्लो छ महिनायताको संगतले उनलाई र्यापर बनाइदियो।
काठमाडौं आउनुअघि साथीसंगी र आफन्तका नजरमा प्रेक्षाको गायक छवि बनिसकेको थियो। भ्वाइस अफ नेपालबाट बाहिरिए पनि अरूले ‘नोटिस’ गर्नुलाई सकारात्मक मानेकी थिइन्। तर आफ्नो छवि ‘भ्वाइस अफ नेपालबाट बाहिरिएकी केटी’मै खुम्चेला भन्ने डर पनि थियो।
भन्छिन्, ‘म त्यही परिचयमा खुम्चिन चाहन्नथेँ।’
फैलिने चाहनामा उनी ‘भ्लगरहरूको संसार’ पुगिन्।
‘निराश भएर बस्नुको साटो आफूलाई उत्साहित गर्न चाहन्थेँ। क्यामरासँगको डर पनि भाग्ने र नयाँ कुरा गर्न पाइने भएकाले भ्लगिङ गरेँ,’ उनले भनिन्।
यही सिलसिलामा भ्लगर चेतनराज कार्की र र्यापर गिरिश खतिवडासँग संगत बढ्यो। जे गरे पनि संगीतसँग जोडिनुपर्ने सोच राख्ने प्रेक्षाले चेतनको स्टुडियोबाट प्राविधिक ज्ञान पनि लिइरहिन्। हिपहप– र्याप गाउने-सुन्ने समूहमा पुगेपछि यो विधाको विशेषता पनि थाहा हुँदै आयो। दिनभर जस्तो माहोलमा बित्यो, राति घरमा तिनै गीत-संगीत सुन्न थालिन्।
र्यापका शब्द र इलेक्ट्रोनिक बिटहरूमा उनले आफूले खोजिरहेको ‘ऊर्जा’ भेटिन्। त्यसपछि उनमा ‘र्याप नै गाइदिम् क्या हो!’ भन्ने जोस आयो।
‘शब्द र शैली हिसाबले र्यापको घेरामा बस्दा अरू जनरामाभन्दा खुलेर भन्न सकिन्छ भन्ने लाग्न थाल्यो,’ उनले सुनाइन्।
आफ्नै अनुभवलाई कथा बनाएर गाउनु र्यापको मुख्य विशेषता हो। प्रेक्षालाई पनि आफ्नै कथा भन्नु थियो। यस्तो कथा, जुन व्यक्तिगत भए पनि स्रोताहरूलाई पनि आफ्नै लागोस्।
अरूलाई ऊर्जा दिन गीतको भिडिओमा भने आत्मविश्वासी देखिनु जरूरी थियो। प्रेक्षा भन्छिन्, ‘भ्लगिङ गरेर क्यामरा सामना गर्न धेरै सजिलो भयो।’
गीतको भिडिओमा ‘हे हे हे यू…’ भन्दै चिच्याए पनि प्रत्यक्ष भेटमा प्रेक्षा मधुरो सुनिन्छिन्।
‘अलि रिजर्भ्ड छु,’ मधुरै स्वरमा उनले भनिन्, ‘क्यामरामा मात्रै सहज देखिएकी। भिडभाड र पार्टीभन्दा बन्द कोठामा पेन्टिङ गरेर बस्न रमाइलो लाग्छ।’
यो उनको बाल्यकालदेखिकै स्वभाव हो। सानोमा अहिलेभन्दा पातली थिइन् प्रेक्षा। कदकाठी हेरेर कसैले भन्थे ‘कस्ती पातली भएछौ, खाना खाँदैनौ क्या हो?’
कसैले थप्थे, ‘आम्मा! कस्ती काली भइछौं, फेयर एन्ड लभ्ली लगाऊ न।’
मान्छेको हुलमा बसेर यस्ता टिप्पणी सुन्नुभन्दा एक्लै गीत सुनेर, नाचेर वा पेन्टिङ गरेर समय काट्ने उनको बानी बन्यो।
गुनासो पोखिन्, ‘कसैसँग बोल्नुपर्दा अरूले मलाई कसरी हेरिरहेको होला भन्ने लाग्थ्यो। आफैं कोही इन्सेक्युर हुँदैन, समाजले बनाउने रहेछ।’
एकलकाटे बानीका कारण उनलाई कतिले घमन्डी भन्दारहेछन्। हाँस्दै थपिन्, ‘हो, घमन्डी थिएँ, तर संगीतले हम्बल बनाइराछ।’
संगीतले उनलाई आफ्ना कुरा भन्न सक्ने पनि बनाइरहेको छ। यसका लागि राम्रै ‘होमवर्क’ गरेको उनी बताउँछिन्।
‘सुरूमा त म आफैंलाई र्याप गाउँदा कस्तो प्रतिक्रिया आउला भन्ने चिन्ता थियो,’ उनले भनिन्, ‘आत्मविश्वास बढाउनु थियो। त्यसैले टिकटक र इन्स्टाग्राममा र्याप गाउँदै आफ्नै परीक्षा लिएँ।’
त्यहाँ पाएका हजारौं प्रतिक्रियाले उनलाई उत्साह दियो।
प्रेक्षा गिरिश खतिवडाको महिलाप्रधान गीत ‘बी वाट यु वान्ना बी’बाट प्रभावित थइन्। प्रेक्षाको पहिलो गीतको संगीत र भिडिओ सम्पादन गिरिशले गरेका हुन्। निर्देशक प्रेक्षा आफैं।
भिडिओमा उनी सेतो लुगामा देखिन्छिन्। उनको भनाइ छ, ‘सकारात्मक सोच बोकेको गीतमा सेतै लुगा लाउँदा ठीक होला भन्ने लाग्यो।’
हिपहप–र्यापको शब्द र भिडिओमा यौन, लागुऔषध, हिंसा र मदिराजन्य कुरा बढाइचढाइ गरेको आरोप लागिरहेको हुन्छ। प्रेक्षाको गीतमा यो सबै छैन।
भन्छिन्, ‘मेरो गीत आमाबुवा र आफन्तले पनि हेर्न सक्नुहुन्छ।’
युवामाझ निकै लोकप्रिय भएर पनि हिपहप–र्यापमा महिला अनुहार आक्कलझुक्कल आउँछन्, हराउँछन्। प्रेक्षा आफूजस्तै धेरै महिला यो विधामा आऊन् भन्ने चाहना राख्छिन्। महिला बढे हिपहप–र्यापको विषय र प्रस्तुतिमा समेत त्यसले फरक पार्ने उनको दाबी छ।
भन्छिन्, ‘र्यापमा आफ्नै भोगाइलाई कथा बनाउने भएकाले महिलाले लेख्ने विषय र त्यसको चित्रण फरक हुन सक्छ।’
भिडिओ नआउन्जेल प्रेक्षाको मन चुकचुक–चुकचुक गरी बस्थ्यो। गीत सार्वजनिक भएपछि आफ्नो संघर्षको एउटा चरण पार भएको महशुस गरिरहेकी छिन्। उनलाई थाहा छ, यो सुरूआत हो, यात्रा र संघर्ष दुवै लामो छ।
लामो यात्राको तयारी गरेर संगीतमा हाम्फालेको बताउने उनी भन्छिन्, ‘६० वर्षको उमेरमा पनि गितार बोकेर स्टेज चढ्ने सपना छ। त्यसैले धैर्य गरेरै यहाँसम्म आइपुगेकी हुँ। प्रतिक्रिया जस्तो आए पनि नयाँ गीत निकाल्दै जानेछु।’
सफल भए सफलताको, असफल भए असफलताकै गीत गाइरहने उनको योजना छ। उनको भनाइमा जसरी पनि गीत-संगीतमै लागिरहने जिद्दीभाव भेटिन्छ।
व्यवस्थापनमा स्नातक सकेर एक वर्षअघि काठमाडौं आउने बेला प्रेक्षाका साथ दुइटा ब्याग, एउटा गितार, परिवारको समर्थन र एक थान सपना थिए। त्यो सपना उनले सुस्मासँग गितार भिरेर हिँड्दाको दिन देखेकी थिइन्।
‘हामी दुई केटीलाई देखेर धेरैले राम्रो काम गरिराछौ भन्थे,’ आकाशे रङको ज्याकेट लगाएकी उनले आफ्नो घुम्रिएको कपाल मिलाउँदै सुनाइन्, ‘रमाइलो लाग्थ्यो। पुरै रकस्टारवाल फिल आउँथ्यो।’
यति बेला उनी त्यही सपनाको गीत बनाउने तरखरमा छिन्। उत्साहित हुँदै सुनाउँछिन्, ‘चाँडै मैले देखेको सपनाको कुरा भएको गीत बनाउँछु।’
गीतको बोल हुनेछ– ‘सम डे, आइ विल बी अ रकस्टार!’
Discussion about this post