स्कुल अफ ह्याप्पीनेसका संस्थापक एवं माइण्ड रिसर्च पर्सन हरी सिटौलाले पुरुषमा भन्दा १० गुणा बढी न्यूरोन महिलामा हुने भएकाले महिलासँग असाधारण क्षमता हुने बताएका छन् ।
लायन्स क्लव अफ सेती गण्डकीको आयोजना एवं हङ्कङ व्यूटि इन्ष्टिच्यूटको संयोजनमा मंगलबार पोखरामा भएको महिला सशक्तिकरण एवं उत्प्रेरणामूलक एक दिने तालिममा प्रमुख प्रशिक्षक गरेका सिटौलाले प्राकृतिक रुपमा महिला निकै शक्तिशाली भएपनि सामाजिक रुपमा कमजोर बनाइएको बताए ।
उनले महिलाले आत्मविश्वासबाट आफ्नो क्षमतालाई उजागार गरेर अघि बढ्न सके महिलाले असाधारण सफलता हासिल गर्न सक्ने बताए ।
अर्का वक्ता ब्रम्हकुमार एवं मोटिभेशनल स्पीकर राजु खड्काले सकरात्मक सोच राखेर कर्म गर्न सके सफलता हासिल हुने बताए । समस्या भए समाधान पनि जरुर हुने भएकाले निराशाबाट जिन्दगीलाई दुःखी बनाउन नहुने उनको भनाई थियो ।
गण्डकी प्रदेश सभा सदस्य प्रभा कोइरालाले प्राकृतिक रुपमा महिला क्षमतावान् भएपनि सामाजिक रुपमा कमजोर चित्रण गरेर महिलाको क्षमताको अवमूल्यन गरिएको बताए । अझै पनि महिलाको अस्तित्व र क्षमतालाई पुरुषवादी सोचले स्विकार्न नसक्दा सामाजिक विभेद भएको उनको भनाई थियो ।
अर्का प्रदेश सभा सदस्य एवं तालिमका संयोजक मिना गुरुङले महिलाले आफु भित्रको क्षमतालाई उजागार गरेर शसक्त रुपमा अब बाहिर आउनु पर्ने बताइन् । महिलाले कसैको दवाव र प्रभावबाट होइन आफ्नो स्वविवेक प्रयोग गरेर अघि बढ्न सके हरेक क्षेत्रमा सफल हुने धारणा राखिन् ।
कार्यक्रममा लायन्स क्लव अफ सेती गण्डकीका अध्यक्ष सुभद्रा श्रेष्ठ, को चिफ एडभाइजर सुचित्रा थापा, डिपार्टमेन्ट चिफ मिलन थापा, जोन चियरपर्सन पुष्पा आचार्य लगायतले तालिमबाट आफुभित्रको ऊर्जालाई जगाउन सके सफल हुने कुराको बोध तालिमबाट भएको अनुभव सुनाए । अरुबाट सञ्ंचालित होइन आफै स्वचालित हुन सक्ने क्षमताको विकासका लागि तालिम प्रभावकारी भएको उनीहरुको भनाइ थियो ।
तालिममा क्लबका सदस्य एवं सौन्दर्य पेशामा आवद्ध गरी ७० जना महिलाको सहभागिता रहेको क्लवका सचिव सोभि खड्काले जानकारी दिए ।
Discussion about this post