काठमाडौँ — फेसबुकमा तीखा टिप्पणीबाट चर्चामा आइरहने गायिका आस्था राउत फेरि विवादमा तानिएकी छन् । उनले प्रहरीप्रतिआक्रोश पोखेको भिडियो फेसबुकमा ‘भाइरल’ भइरहेको छ । हिजो बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको उनले आरोप लगाएकी छन् ।
भन्छिन्– ‘फेसबुक भिडियोमा अलि आक्रोशित भएछु, क्षमा चाहन्छु’
भद्रपुरमा ओर्लिएपछि उनले गाडीबाटै फेसबुक लाइभ गरेकी थिइन्। उनले भिडियोमा प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’ जस्ता अपशब्द प्रयोग गरेकी छन्। पश्चिम सिक्कीमको रिम्बी माघे मेलामा प्रस्तुतीका लागि आस्था सिक्किम जाँदै थिइन्। आस्थाको फेसबुक पेजमा यो भिडियो अन्य पेजबाट पनि शेयर भइरहेको छ।
नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले आस्था राउतको भिडियो आफूले पनि हेरेको र त्यसलाई छानबिनका लागि सम्बन्धित निकायमा पठाएको बताए।
आस्था राउतको बयान
हिजो बिहीबार १२ बजेको फ्लाइटमा भद्रपुर आउँदै थियो। उडान ‘डिले’ भयो। बोर्डिङ पास लिने काउन्टर नजिककै कफी सपमा बसिरहेकी थिएँ। एक्कासी ‘मिस आस्था राउत’ भनेर बोलायो, कफी लिएर भित्र र्छिन थालें।
दुई दिन अगाडिसम्म म त्यहीँबाट पोखरा जाँदा मलाई ज्याकेट खोल्न लगाइएको थिएन। तर हिजो भने सबैलाई स्वेटर पनि खोल्न लगाइएको थियो। जबकी त्यहाँ त्यसरी सबै खोल्नै लगाएर चेकिङ गरेको याद छैन। बाहिरबाटै महिला प्रहरीले छामेर पास गर्थे।
फ्लाइट छुट्न लागेको जानकारी गराउँदै मैले छिटो चेक गरिदिन अनुरोध गरें। ती महिला प्रहरीले झर्केर ‘ज्याकेट खोल्नुस’ भनिन्। मैले दुवै हात माथि उठाएर फेरि आग्रह गरें। त्यसपछि उनले मलाई ‘ज्याकेट खोल भनेको सुनिनस्’ भनिन्। मेरो कफी हातबाट लिएर कतै राखिदिइन्। चेक गरिसकेपछि ‘कफी लिएर जा’ भनिन्।
एकातिर दुव्यर्वहार, अर्कातिर हतार। मैले कफी नलिई हिँड्न खोजें। तर उनले फेरि ठूलो स्वरमा ‘कफी लिएर जा, नत्र तेरो ब्यागमा खनाइदिन्छु’ भनिन्। ‘जे सुकै गर’ भनेर अगाडि बढें। उनले लगाएको युनिफर्मको नेमप्लेटमा ‘रमिता’ लेखेको थियो।
त्यहाँ ममाथिको दुव्यर्वहार अरुले पनि देखिरहेका थिए। तर सबैले हेरि मात्र रहे, केही बोल्नेन्। हामी कलाकारमाथि त यस्तो रुखो व्यवहार हुन्छ भने सर्वसाधारणलाई कस्तो होलारु अपराधीलाई पनि त्यस्तो गर्न पाइँदैन। यो त युनिफर्मको दादागिरी हो। म महिलाबाटै पीडित भएँ। ‘प्रहरी मेरो साथी’ भन्ने नाराको मजाक भएन ?
भद्रपुर विमानस्थलबाट निस्किएपछि माघे संक्रान्तिको शुभकामना दिउँ अनि ममाथिको दुव्यवर्हारबारे पनि केही भनुम भनेर लाइभ आएको थिएँ। तर बोल्दै जाँदा अलि चर्को बोलेछु। पीडितको आवाज हो त्यो, मेरो भडास हो। मेरो परिवारमा पनि प्रहरी र सेनामा कार्यरत सदस्यहरु हुनुहुन्छ। म संगठनको रेस्पेक्ट गर्छु।
तर, मैले एकजना प्रहरीका कारण पुरै प्रहरी प्रशासनलाई बदनाम गर्न खोजेको होइन, त्यस्तो नियत छैन।एकजना प्रहरीले गरेको व्यवहारका कारण मैले सबैप्रति आक्रोश पोख्न पुगें। मैले केवल यस्ता प्रहरी पनि छन् है भनेर जानकारी र सुझाव मात्र दिएकी हुँ। यद्यपी मैले भिडियामा बोलेका आक्रोशपूर्ण शब्दप्रति क्षमाप्रार्थी छु।
Discussion about this post